- मंसिर १८, २०८१
- No Comment
- 17
दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो
आज सुनचाँदीकै मूल्य बढेको छ । गएको आइतबार र सोमबार घटेको सुनचाँदीकै मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । मूल्य बढेर आज सुन तोलाको एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य एक लाख ४९ हजार ३ सय रुपैयाँ थियो ।
अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार ८ सय १५ रुपैयाँ थियो । सरकारले भन्सार दर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।