- कार्तिक २२, २०८१
- No Comment
- 26
सुर्खेत काँक्रेविहारमा वनभोज बन्द
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ मा रहेको पर्यटकीय, पुरातात्त्विक एवं ऐतिहासिक स्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ । डिभिजन वन कार्यालय सुर्खेतले मङ्गलबार एक सूचना जारी गरी संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको असुरक्षा बढ्दै गएको, दुर्गन्ध फैलिएको तथा होहल्ला बढ्ने भएकाले अबदेखि वनभोज खान तथा रमाइलो गर्न पुर्ण रूपमा बन्देज लगाएको हो । काँक्रेविहारमा वनभोज तथा भोजभतेर गर्ने चलन थियो । उक्त सूचनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्र हुने वनभोज तथा पार्टीले गर्ने होहल्ला जस्ता गतिविधिले वन्यजन्तु त्रसित हुने तथा जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्ता गतिविधि पुर्ण रूपमा बन्देज लगाइएको जनाइएको छ । सूचनालाई अटेर गरी त्यस्ता गतिविधि गरेमा वन ऐन २०७६ बमोजिम कारबाही गर्ने चेतावनी पनि डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले विगतदेखि नै काँक्रेविहार क्षेत्रमा वनभोज, पार्टी जस्ता होहल्ला हुने गतिविधिमाथि रोक लगाउन आवाज उठेको र अहिले स्थानीय तह तथा वडा कार्यालयसँग समन्वय गरी रोक लगाइएको बताएका छन् । काँक्रेविहार संरक्षित क्षेत्र नेपालकै पहिलो संरक्षित वन हो । संरक्षित वन क्षेत्रभित्र वनभोज जस्ता जैविक विविधतामा असर पुग्ने कुनै पनि गतिविधि गर्न पाइँदैन भन्दै उनले त्यसै अनुसार वीरेन्द्रनगर नगरपालिका र वडा नं. ९ सँग समन्वय गरी वनभोज र भोजभतेर जस्ता गतिविधिमाथि बन्देज लगाउने निणर्य गरिएको जानकारी दिए । काँक्रेविहारमा वनभोज खान बन्देज लगाउने भन्दै गत साउन महिनामा वनभोज स्थलमा वृक्षरोपण गरिएको थियो । विभिन्न जडीबुटी तथा घाँस प्रजातिका बिरुवा रोपिएको थियो ।