- साउन १७, २०८१
- No Comment
- 47
नुवाकोटमा बाढीका कारण सयौं रोपनी धानखेत बगरमा परिणत
कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका- २ स्थित पिमलटारको सयौं रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएकाे हो । त्यहाँ भर्खर रोपिएको धानखेत बाढीले सबै पुरीदिएको छ ।
हालै रोपिएको खेत पुर्ण रुपमा पुरेको र बाढी रोकिएपछि रोपो उठाउने कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेको कारण उठाउन नसकीएको स्थानिय किसानहरुले जानकारी दिएका छन् । किसानका अनुसार बाढीले ‘दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको र चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।’
बाढीको कारण स्यानीय समाजसेवी जनक ढुंगानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुंगे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवतजावत रोकिएको छ । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताएका छन् । उनले प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्ने जानकारी दिएका छन् ।