
धनगढी । संघीय सरकारले सरुवा गरेको भनिएका सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल अझै मन्त्रालयमै कार्यरत छन्। सरुवा भएको एक साता बितिसक्दा पनि उनले रमाना नलिएको पाइएको छ।
हमाललाई काठमाडौँस्थित राष्ट्रिय महिला आयोगमा सचिवका रूपमा सरुवा गरिएको बताइए पनि प्रदेश सरकारलाई भने यसबारे औपचारिक जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ। उनी अहिले पनि आगामी बजेट निर्माणसँग सम्बन्धित काममा सक्रिय रहेको बताइएको छ।
यता, संघीय सरकारले सुदूरपश्चिम प्रदेशको प्रदेश सचिवका रूपमा खटाएका सहसचिव बलराम रिजाल पनि हालसम्म प्रदेशमा पुगेका छैनन्। यसले प्रदेशमा कर्मचारीको जिम्मेवारी र सरुवाको विषयमा अन्योल देखिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सूचना अधिकारी सत्यराज जोशीले हमालको सरुवाबारे मन्त्रालयमा आधिकारिक जानकारी नआएको बताएका छन्। हमालसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन उठाएनन्।



