
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई संरक्षण र हेरचाहको विषयमा मात्र सीमित नगरी ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव भावी पुस्तामा हस्तान्तरण गर्न मन्त्रालयले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने घोषणा गरेकी छन्। डिजिटल प्रविधिमार्फत उनीहरूको ज्ञान र अनुभव अभिलेखीकरण गरी समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्ने योजना रहेको उनले बताएकी छन्।
बदलिँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण तथा एक्लोपनका चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित, सक्रिय र अर्थपूर्ण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री बादीले प्रभावित तथा घाइतेको उद्धार, राहत, संरक्षण र पुनर्स्थापनाका लागि मन्त्रालयले आवश्यक समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।



