
बाजुरामा सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा पुगेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी रोकायाको रक्तश्राव नरोकिएपछि आफन्तले उनलाई ९ दिनपछि मात्र जिल्ला अस्पताल बाजुरा ल्याएका थिए। शरीरमा रगतको कमी र अन्य स्वास्थ्य समस्या देखिएपछि सोमबार अस्पतालले उनको अवस्था गम्भीर बन्दै गएको भन्दै थप उपचारका लागि रेफर गरेको थियो।
ज्यान जोखिममा परेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। रोकायालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ। समयमै अस्पताल नल्याउँदा ग्रामीण भेगका सुत्केरीहरूले यस्ता गम्भीर जोखीम बेहोर्दै आएका छन्।



