
मधेस प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो।
सततको वर्षाका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका निजी घर तथा अन्य भौतिक संरचनाहरूमा क्षति पुगेको छ। प्राप्त विवरण अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन्।
यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका वडा नम्बर ७, ११ र १२ क्षेत्रमा पर्ने कोशी बाँधको दक्षिणतर्फका २०० घरमा समेत पानी पसेको प्रवक्ता खनालले जानकारी दिएका छन्।


