
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ भने घटनामा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामले आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले ईसीजी परीक्षणपछि बाटोमै उनको मृत्यु भइसकेको जनाएको डीएसपी घलेले बताए ।
बालकलाई करेन्ट लागेपछि छुटाउन खोज्दा थप चार जना स्थानीय घाइते भएका छन् । घाइते हुनेहरूमा मृतककी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम, स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा रहेका छन् ।
ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर सविनकुमार कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको डीएसपी घलेले जानकारी दिएका छन्।

