
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएको क्रममा सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, निकुञ्ज प्रशासन र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल तथा बागफाँटा क्षेत्रका महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका थिए।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
प्रहरीका अनुसार उनीहरू नौ जना र पाँच जनाको दुई समूह बनाएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट जंगलतर्फ प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि तथा सम्पर्क हुन नसकेपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका थिए।
घटनाबारे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्थानीयको समन्वयमा खोजी अभियान सुरु गरिएको डीएसपी रावतले जानकारी दिए। हालसम्म उनीहरूको अवस्था खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले जंगल क्षेत्रमा प्रवेश गर्दा आवश्यक सावधानी अपनाउन, समूहबाट नछुट्टिन तथा सम्बन्धित निकायलाई जानकारी गराएर मात्र जंगलमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।



