
सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा चाडपर्वलाई लक्षित गर्दै उपभोक्ताको स्वास्थ्य तथा हितलाई ध्यानमा राख्दै संयुक्त बजार अनुगमन गरिएको छ। मंगलबार जामुने, गोजी र सिर्जना बजार क्षेत्रमा गरिएको यस अनुगमनमा विभिन्न पसलहरूको निरीक्षण गरिएको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको नेतृत्वमा तथा सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको प्रमुख आतिथ्यतामा सो अनुगमन सम्पन्न भएको हो।
अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद नाघेका खाद्यवस्तु, पेय पदार्थ, बीउबिजन, मिठाइ, जुस र खानेतेललगायतका सामग्रीहरू बरामद गरिएको छ। बरामद गरिएका ती सामग्रीहरू सम्बन्धित व्यवसायी तथा सरोकारवालाको रोहवरमा मुचुल्का तयार गरी सिम्ता गाउँपालिका परिसरको खाली जग्गामा खाल्डो खनेर नष्ट गरिएको हो। चाडपर्वका बेला बजारमा उपभोक्ताको चाप बढ्ने हुँदा खाद्यवस्तुको गुणस्तर र म्यादको नियमित अनुगमन आवश्यक रहेको अधिकारीहरूले बताएका छन्। अनुगमनमार्फत व्यवसायीहरूलाई गुणस्तरहीन सामग्री बिक्री–वितरण नगर्न सचेत गराउँदै कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।



