
जाजरकोटको उच्च पहाडी क्षेत्रमा लगातारको वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ। जिल्लाको बारेकोटस्थित चाखुरे पाटन, कुशे पाटन लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएपछि अत्यधिक चिसो बढेको छ।
हिमपात र वर्षाका कारण पाटन क्षेत्रमा चरनका लागि लगिएका घोडा, खच्चर, भेडा तथा बाख्रालाई सुरक्षित राख्न तल्लो क्षेत्रतर्फ झार्न थालिएको छ।
लगातारको वर्षाले चिसो बढाउँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। विशेषगरी भूकम्पपछि अस्थायी टहरामा बसोबास गर्दै आएका नागरिकलाई बढ्दो चिसो र वर्षाले थप समस्या सिर्जना गरेको छ। भूकम्पबाट घरमा क्षति पुगेपछि लामो समयदेखि अस्थायी टहरामा बस्दै आएका परिवारहरू वर्षाका कारण टहराभित्र पानी पस्ने, ओसिलो हुने र चिसो अत्यधिक बढ्ने समस्याबाट प्रभावित भएका छन्। यस अवस्थामा बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई चिसोबाट बचाउन थप कठिनाइ उत्पन्न भएको छ।



