
काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका अवसरमा देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदैछ। यस अवसरमा कालिगढ तथा श्रमिकले कलकारखाना, औजार, मेसिन तथा सवारीसाधनको विधिपूर्वक पूजाआराधना गर्ने गर्छन्।
कलकारखाना तथा कार्यस्थललाई सजाएर विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा छ। विश्वकर्माको पूजा गर्दा औजार तथा मेसिन टिकाउ हुने, कामका क्रममा नबिग्रने र राम्रोसँग काम गर्न सकिने धार्मिक विश्वास रहिआएको छ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाता तथा सफल वास्तुविद्का रूपमा सम्मान गरिन्छ। धार्मिक मान्यताअनुसार उहाँले द्वापर युगमा भगवान् कृष्णका लागि समुद्रको बीचमा द्वारका निर्माण गर्नुभएको विश्वास छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ पनि विश्वकर्माले नै रचना गरेको मान्यता रहेको छ।
विश्वकर्मा पूजासँगै नेपालमा वास्तुशास्त्रको महत्व पनि बढ्दै गएको छ। विशेषगरी घर तथा विभिन्न संरचना निर्माणमा वास्तुशास्त्रको प्रयोग गर्ने चलन बढिरहेको छ।



