• साउन २८, २०८१
  • No Comment
  • 198

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा कर्णाली प्रदेशमा युवा संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित युवा संवाद कार्यक्रमले प्रदेशको विकासमा युवाको भूमिका र चुनौतीबारे गहन छलफल गरेको छ । ‘दिगो विकासमा प्रगति, समृद्धि डिजिटल पहुँचमा युवा अभिवृद्धि’ भन्ने मुल नारा सहित रोयम नेपाल, पिएफसी, ग्रामिणमुखि युवा अभियान नेपाल, आयोन, र युवा मानव अधिकार रक्षक युवा सञ्जाल सुर्खेतले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा कर्णाली प्रदेशका १० ओटै जिल्लाका विभिन्न क्षेत्र, समुदाय र वर्गका युवाहरू सहभागी भएका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने पिएफसीका अध्यक्ष प्रकाश खड्काले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन रोयम नेपालका कर्णाली प्रदेश परियोजना संयोजक सन्तोष विकले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी युवाहरूले प्रदेश सरकारलाई युवामैत्री नीति बनाउन नसकेको र युवाहरूलाई समृद्धिको बाटोमा लैजान सकेको छैन भनी प्रश्न उठाएका थिए। अधिकारकर्मी ललिता विश्वकर्माले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री भण्डारीलाई प्रश्न गर्दै, “कर्णालीको जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवामैत्री नीति अझै पनि प्रदेश सरकारले बनाउनतर्फ ध्यान दिएको छैन। आजका युवाहरू अवसर नपाएको कारण विदेशतर्फ आकर्षित भइरहेका छन्। युवालाई क्षमतावान बनाउन प्रदेश सरकारले के योजना बनाएको छ?” भनी भनिन्।

कार्यक्रममा रोशनी ढकालले अपाङ्गता भएका व्यक्तिलाई राज्यले उचित संरक्षण गर्ने नीति अवलम्बन नगर्दा उनीहरू हरेक अवसरबाट बञ्चित भएको र यो अवस्थामा राज्यको जिम्मेवारीप्रति ध्यान दिनुपर्ने बताइन्। ढकालले अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता औंल्याइन्।

दैलेखका हरिबहादुर शाहीले कर्णालीको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सम्भावनालाई प्रवर्द्धन गर्न युवाहरूलाई सक्रिय बनाउनुको साटो उनीहरूलाई निराशातर्फ धकेलिएको गुनासो गरे। पुष्कर खड्काले प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि युवा परिषद् गठन हुन नसक्नु सरकारको युवाप्रति उदासीनता भएको संकेत भएको बताए।

कार्यक्रममा साइबर सुरक्षा, ह्याकिङ, किशोर किशोरी अवस्थाको आवश्यक ज्ञान, साइबर अपराध लगायतका विषयमा प्रशिक्षण प्रदान गरियो। भायानेट कम्युनिकेशन सुर्खेतका शाखा प्रबन्धक डिकेन्द्र थापाले सामाजिक सञ्जालको व्यवसायिक प्रयोग तथा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिए भने, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक शशी विकले साइबर अपराधको अवस्था, रोकथाम प्रयास र कानूनी प्रक्रियाबारे जानकारी गराए। साथै, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिले किशोर किशोरी स्वास्थ्य सम्बन्धी प्रशिक्षण पनि गराए।

कार्यक्रममा सहभागी युवाहरूले अन्य प्रदेशको तुलनामा कर्णालीमा बालविवाह धेरै रहेको र यसलाई घटाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिए। मन्त्री भण्डारीले युवाको सवालमा प्रदेश सरकारको प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रदेशको कमजोर आन्तरिक आम्दानीले चाहेजस्तो काम गर्न नसकिएको तर संघीय सरकारले दिएको बजेटको आधारमा नीति बनाउने बाध्यता रहेको बताए।

यस सम्मेलनले युवाहरूलाई डिजिटल माध्यमबाट समृद्धिको बाटो तर्फ लैजान सकिन्छ भन्ने अनुभूति गराएको थियो। मन्त्री भण्डारीले युवाहरूमा आफ्नै ठाउँमा केही गर्नुपर्ने हुटहुटी हुनुपर्ने र यसमा आफू मन्त्री नभए पनि सघाउन तयार रहेको बताए।

सम्बन्धित खबर

कर्णालीमा ‘राउटे करिडोर’ निर्माण हुँदै

कर्णालीमा ‘राउटे करिडोर’ निर्माण हुँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते राउटे समुदायको संरक्षणका लागि ‘राउटे करिडोर’ निर्माण गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३…
 दैलेखको आठबिस नगरपालिकाले ल्यायो इ-हाजिर, पारदर्शिता र सुशासनको नयाँ पाइला

 दैलेखको आठबिस नगरपालिकाले ल्यायो इ-हाजिर, पारदर्शिता र सुशासनको नयाँ…

दैलेख। दैलेखको आठबिस नगरपालिकाले आफ्नो कार्यालयमा डिजिटल युगको सुरुवात गर्दै इ-हाजिर प्रणाली लागू गरेको छ। यो कदमले नगरपालिकाको प्रशासनिक कामकारबाहीमा ठूलो…
कर्णालीमा स्वास्थ्य संकटको घण्टी: हरेक पाँचमध्ये एक नागरिकमा दीर्घ रोग

कर्णालीमा स्वास्थ्य संकटको घण्टी: हरेक पाँचमध्ये एक नागरिकमा दीर्घ…

कर्णाली प्रदेशमा नसर्ने प्रकृतिका रोगहरूले भयावह रूप लिइरहेको एक सरकारी तथ्यांकले उजागर गरेको छ। प्रदेश सरकारद्वारा सञ्चालित एक महत्वपूर्ण स्वास्थ्य कार्यक्रममा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *