- असार १५, २०८३
- No Comment
- 4
सुर्खेतकाे चौकुने गाउँपालिकामा सम्भावित महिला उद्यमीका लागि उद्यमशीलता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा सम्भावित महिला उद्यमीहरूका लागि सञ्चालन गरिएको पाँच दिने उद्यमशीलता विकास (GYB/SYB) तालिम सम्पन्न भएको छ। महिला तथा बालबालिका शाखाको आयोजनामा चौकुने गाउँपालिकाको सभाहलमा असार ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रम चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो। तालिममा चौकुने गाउँपालिकाका १ देखि १० वटै वडाका सम्भावित महिला उद्यमीहरूको सहभागिता रहेको थियो।
तालिममा व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, व्यवसाय योजना तयार गर्ने तरिका, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, उद्यम सञ्चालनका चुनौती तथा अवसरलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षक उद्योग तथा वाणिज्य शाखा प्रमुख वर्षा घर्ती र उद्यम विकास सहजकर्ता योगेन्द्र कुमार सापकोटाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिक, महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कडेल, उद्योग शाखा प्रमुख वर्षा घर्ती, उद्यम विकास सहजकर्ता योगेन्द्र कुमार सापकोटा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा चौकुने गाउँपालिका उपाध्यक्ष नरबहादुर बान्तोलाले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउँदै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर सफल उद्यमी बन्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिकले स्थानीय स्तरमै रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता विकास आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई प्रेरित गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै पुष्पा सलामीले तालिमबाट व्यवसाय सुरु गर्ने आत्मविश्वास, योजना बनाउने सीप र उद्यम सञ्चालनका आधारभूत ज्ञान प्राप्त भएको बताउनुभयो।
उहाँले तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा लागू गरी आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, यस्ता सीपमूलक तथा उद्यमशीलता विकासका तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कडेलले गर्नु भएको थियो ।



