- जेष्ठ २७, २०८३
- No Comment
- 13
रास्वपा दैलेखमा पदाधिकारी घोषणा भएपछि मत गणनामा विवाद, खसेकोभन्दा बढी मत भेटिएको आरोप

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनमा सभापति चयन प्रक्रिया विवादित बनेको छ। सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएको घोषणा भइसकेपछि मतदानमा खसेकोभन्दा बढी मत भेटिएको भन्दै विवाद उत्पन्न भएको हो।
सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो। सर्वसम्मत प्रयास सफल नभएपछि आइतबार साँझ मतदान गरिएको थियो। सभापतिका प्रत्याशी प्रकाश बुढाका अनुसार निर्वाचन समितिले कुल २४० मत खसेको जानकारी दिएको थियो।
तर मतगणनाको नतिजाअनुसार सभापतिका उम्मेदवारहरूले प्राप्त गरेको कुल मत संख्या २४६ पुगेको देखिएको छ। घोषित परिणामअनुसार बखतबहादुर भण्डारीले ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए। यस्तै, प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ तथा मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए।
बुढाका अनुसार निर्वाचन समितिले ६ मत बदर भएको जानकारी समेत दिएको थियो। त्यसअनुसार वैध मत संख्या २३४ हुनुपर्ने भए पनि उम्मेदवारहरूले प्राप्त गरेको कुल मत २४६ देखिएकाले १२ मत कसरी थपियो भन्ने विषयमा प्रश्न उठेको उनले बताएका छन्।
उनले निर्वाचन प्रक्रियामा अपारदर्शिता र गैरजिम्मेवारी देखिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै प्रमाण सुरक्षित राख्न रास्वपा दैलेख जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको पनि उनले जानकारी दिएका छन्।
जिल्ला अधिवेशन सञ्चालनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। यस विषयमा प्रतिक्रिया दिँदै शाहीले निर्वाचन सम्पन्न गरी सबै कागजात पार्टी कार्यालयमा बुझाइसकेको बताएका छन्।
उनले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न भएको मौखिक दाबी गरे पनि मत संख्या बढी देखिएको विषयमा भने स्पष्ट जवाफ दिएका छैनन्।
घटनापछि अधिवेशनको पारदर्शिता र निर्वाचन व्यवस्थापनमाथि प्रश्न उठेको छ।



