- जेष्ठ २२, २०८३
- No Comment
- 21
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

रुकुम पश्चिम, जेठ २२ । रुकुम पश्चिममा जुवातास खेलिरहेको अवस्थामा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
शुक्रबार बिहान करिब २ बजे त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाँठा, डिल्ली बहादुर घर्ती, शिव घर्तीमगर, नन्दकुमार घर्तीमगर, मनबहादुर बोहोरा तथा मुसिकोट नगरपालिका–११ निवासी कमल पुन रहेका छन्।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससहित नगद १ लाख ६७ हजार १०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।



