- जेष्ठ २२, २०८३
- No Comment
- 9
तपाईंको बालबालिकामा जंकफुडको लत छ? यसरी हटाउनुहोस्

पछिल्लो समय बालबालिकामा जंकफुड खाने बानी बढ्दै गएको छ, जसले अभिभावकलाई चिन्तित बनाएको छ। बालबालिकालाई जंकफुडको लतबाट टाढा राख्नु चुनौतीपूर्ण भए पनि सही उपाय अपनाएमा यो सम्भव रहेको बालरोग विशेषज्ञ डा आरती श्रेष्ठ बताउँछिन्।
उनका अनुसार बालबालिकामा स्वस्थ खाने बानी विकास गराउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। बच्चाले बारम्बार जंकफुड खाँदा त्यो बानीमा परिणत हुने भएकाले त्यसको विकल्पमा स्वादिष्ट र पौष्टिक खाना उपलब्ध गराउनु आवश्यक छ। साथै, अभिभावक स्वयंले पनि स्वस्थ खानपानको अभ्यास गरेर राम्रो उदाहरण प्रस्तुत गर्नुपर्छ।
जंकफुडको लत कम गर्ने उपाय
१. घरमै स्वस्थ विकल्प उपलब्ध गराउने
- चाउचाउ, चिप्स तथा अन्य प्रशोधित खाद्य पदार्थको सट्टा फलफूल, नट्स तथा अन्य पौष्टिक खानेकुरा दिनुहोस्।
- घरमै बनाइने खानालाई स्वादिलो र आकर्षक बनाउने प्रयास गर्नुहोस्।
२. बिस्तारै मात्रा घटाउने
- जंकफुड एक्कासी बन्द गर्नुको सट्टा क्रमशः सेवनको मात्रा कम गराउनु उपयुक्त हुन्छ।
- हप्तामा कति पटक जंकफुड खान पाइने भन्ने स्पष्ट नियम बनाउनुहोस्।
३. अभिभावक स्वयं रोल मोडल बन्ने
- बच्चाले देखेर सिक्ने भएकाले अभिभावकले पनि जंकफुडको सेवन कम गर्नुपर्छ।
- परिवारका सबै सदस्यले स्वस्थ खाने बानी अपनाउँदा बच्चामा सकारात्मक प्रभाव पर्छ।
४. विद्यालय र साथीहरूको प्रभाव बुझ्ने
- साथीभाइको खानपानले पनि बालबालिकाको बानीमा असर गर्ने भएकाले उनीहरूसँग खुलेर कुराकानी गर्नुपर्छ।
- स्वस्थ खानपानबारे नियमित रूपमा सचेत गराउनुपर्छ।
५. पोषणको महत्त्व बुझाउने
- जंकफुडले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे बालबालिकालाई उमेरअनुसार बुझाउनुपर्छ।
- पोषणयुक्त खानेकुराले शरीर र मस्तिष्कको विकासमा पुर्याउने फाइदाबारे जानकारी दिनुपर्छ।
विशेषज्ञहरूका अनुसार बालबालिकालाई जंकफुडबाट टाढा राख्न प्रतिबन्ध मात्र पर्याप्त हुँदैन। परिवारभित्र स्वस्थ खाने संस्कार विकास गर्न सकेमा उनीहरूमा पौष्टिक खानेकुरा रोज्ने बानी विस्तारै विकसित हुँदै जान्छ।



