- जेष्ठ १९, २०८३
- No Comment
- 5
वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

सुर्खेत, जेठ १९ — कर्णाली प्रदेश अस्पतालसहित वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्।
वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगत व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै यस सम्बन्धमा मंगलबार वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतबीच सम्झौता भएको हो।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटमै नि:शुल्क रगत उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको थियो। सोही कार्यक्रम कार्यान्वयन गर्न रेडक्रससँग सम्झौता गरिएको उनले बताइन्।
सम्झौताअनुसार जिल्ला रेडक्रस शाखा सुर्खेतद्वारा सञ्चालित ब्लड बैंकमार्फत बिरामीलाई आवश्यक रगत नि:शुल्क उपलब्ध गराइनेछ। उक्त कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर सञ्चालन गर्ने समझदारी भएको जनाइएको छ।
कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापाले नगरपालिकाको यो पहलले आर्थिक अभावका कारण रगत व्यवस्थापनमा समस्या भोगिरहेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय तह र रेडक्रसको सहकार्यमा सुरु गरिएको यो कार्यक्रमले स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ।



