- जेष्ठ १५, २०८३
- No Comment
- 4
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यले “कर्णाली छोरी सम्मेलन–२०८३” को दोस्रो संस्करण शनिबारदेखि सुरु हुने भएको छ।
श्री ज्योति फाउन्डेशन द्वारा आयोजित सम्मेलन जेठ १६ र १७ गतेसम्म वीरेन्द्रनगर मा सञ्चालन हुने आयोजकले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनकी अध्यक्ष ज्योति कटुवाल ले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन्। उनका अनुसार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहनेछ।
सम्मेलनमा राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरूका साथै अपाङ्गता भएका तथा लैङ्गिक एवं यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब २५० भन्दा बढीको उपस्थिति रहने जनाइएको छ।
अध्यक्ष कटुवालका अनुसार सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी तथा छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको छ।
दुई दिने सम्मेलनमा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव साझा गर्नेछन्। साथै, विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने तथा विभिन्न प्यानल छलफल सत्र सञ्चालन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
फाउन्डेशनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो “कर्णाली छोरी सम्मेलन” आयोजना गरेको थियो। उक्त सम्मेलनमार्फत प्रदेशस्तरीय “कर्णाली छोरी सञ्जाल” गठन गरिएको तथा ७९ वटै स्थानीय तहमा पालिकास्तरीय छोरी सञ्जाल विस्तार गरी ६ सय ६९ जना छोरीहरूलाई आबद्ध गरिएको जानकारी दिइएको छ।
यसैबीच, फाउन्डेशनले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। अध्यक्ष कटुवालका अनुसार प्रत्येक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको छ।



