- जेष्ठ १२, २०८३
- No Comment
- 2
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम अन्तर्गत चौकुने गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।चौकुने गाउँपालिकाका अध्यक्ष खडक बि.क. बिवशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष धनिराम धमाला, वडा नं. ६ का वडा अध्यक्ष गोबिन्द थापा, वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी. लगायत जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार व्हिल चियर, सेतोछडी, वाकर तथा बैशाखी वितरण गरिएको थियो।
वितरण गरिएका सहायता सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन, आवतजावत तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले अपाङ्गता भएका नागरिकलाई समाजको मूलधारमा सहभागी गराउन प्रदेश सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत सहयोगलाई निरन्तरता दिने उल्लेख गर्नुभयो। मन्त्री भण्डारीले सहायता सामग्री वितरणसँगै शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका अवसरमा पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, चौकुने गाउँपालिका अध्यक्ष खडक बि.क. बिवशले गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र आवश्यकतालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले स्थानीय सरकार नागरिकमैत्री सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न तथा सम्मानपूर्ण जीवनयापनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।



