- जेष्ठ ३, २०८३
- No Comment
- 0
हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्ला — हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द हुँदा सिमकोट र खार्पुनाथ क्षेत्र अन्धकारमय बनेका हुन्।
वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो। समस्यापछि केन्द्रबाट वितरण हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको उनले बताए।
प्राविधिक टोली परिचालन गरी मर्मत कार्य भइरहेको भए पनि समस्या समाधान नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहले जानकारी दिए।
विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी रातिको समयमा विद्युत् अभावले सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा असर परेको स्थानीयवासीले बताएका छन्।
वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न तथा विद्युत् उपकरण सुरक्षित रूपमा प्रयोग गर्न आग्रह गरेको छ। विद्युत् सेवा बन्द भएपछि सिमकोट र खार्पुनाथका करिब दुई हजार पाँच सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।



