- चैत्र ३०, २०८२
- No Comment
- 44
चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम चौकुने गाउँपालिकामा सम्पन्न भएको छ।
स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप विकासमा महत्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सालकोटका डा. आवास चन्द्र कटुवालले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँले आँखा, नाक, कान, घाँटी तथा मुखसँग सम्बन्धित सामान्य तथा जटिल समस्याहरूको पहिचान, उपचार विधि, प्रारम्भिक व्यवस्थापन तथा आवश्यक परेमा रिफरल प्रणालीका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। चौकुने गाउँपालिकाको समन्वयमा सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न स्वास्थ्य चौकी तथा संस्थाबाट आएका स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले व्यावहारिक अभ्याससहित विषयगत प्रस्तुतीकरणबाट धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताएका छन्।
अभिमुखीकरण कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान गर्ने क्षमता वृद्धि, सेवाग्राहीसँग प्रभावकारी सञ्चार गर्ने तरिका तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उपायहरूबारे समेत जानकारी प्रदान गरिएको थियो। यसले स्थानीय स्तरमै प्राथमिक उपचार सेवा सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार यस्ता क्षमता विकासमूलक कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने, बिरामीलाई समयमै उचित सेवा उपलब्ध गराउने तथा अनावश्यक रूपमा ठूला अस्पताल धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको समापनमा सहभागी स्वास्थ्यकर्मीहरूले यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तह र सरोकारवालाहरूबीच समन्वय बढाउँदै स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।



