- माघ २६, २०८२
- No Comment
- 28
वीरेन्द्रनगरमा लागूऔषध सेवन गरी सवारी चलाएका ६ जना चालक नियन्त्रणमा
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सवारी चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेका ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साेमबार बिहान करिब ११ः२० बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन रोकी जाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चेकजाँचका क्रममा केही चालकमा लागूऔषध सेवन गरेको प्रारम्भिक लक्षण देखिएपछि Test Kit प्रयोग गरी क्यानाबिस (Canabis) र ओपिओइड (Opioid) लगायतका लागू पदार्थ सेवन गरे–नगरेको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनीहरूले लागूऔषध सेवन गरेको पुष्टि भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–८ निवासी २८ वर्षीय अजय थापा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ निवासी २५ वर्षीय कासीराम डाँगी र २५ वर्षीय प्रकाश विक रहेका छन्। यस्तै, दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ निवासी २४ वर्षीय हिक्मत शाही, २५ वर्षीय जीवन शाही तथा गुराँस गाउँपालिका–४ निवासी २५ वर्षीय डिल बहादुर विक पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि लागूऔषध सेवन (ला.प.से) सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको छ।