- माघ १७, २०८२
- No Comment
- 64
किन सामाजिक सञ्जाल छोड्न चाहन्छिन् आलिया भट्ट ?

मुम्बई — बलिउड अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जालबाट टाढा रहने चाहना व्यक्त गरेकी छिन्। ‘एस्क्वायर इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले सामाजिक सञ्जालले कहिलेकाहीँ आफूलाई मानसिक रूपमा थकित बनाउने गरेको बताउँदै यसबाट ब्रेक लिन मन लाग्ने उल्लेख गरेकी हुन्।
सामाजिक सञ्जालमा निकै सक्रिय मानिने आलियाले अब कहिलेकाहीँ सबै प्लेटफर्म छोडेर केवल अभिनयमा मात्र ध्यान दिन चाहने भावना व्यक्त गरिन्। उनले भनिन्, “मलाई धेरै पटक सामाजिक सञ्जाल बन्द गरेर दुनियाँको झन्झटबाट टाढा रहँदै आफ्नो काममा मात्र केन्द्रित हुन मन लाग्छ।”
उनका अनुसार बिहान उठ्दा कहिलेकाहीँ सामाजिक सञ्जाल मेटाइदिऊँ र केवल अभिनय गर्ने अभिनेत्री मात्र बनूँ जस्तो लाग्छ। “म यो निरन्तर चलिरहने कुराकानीमा तानिन चाहन्न,” उनले भनिन्, “तर यसो गर्दा सुरुबाट मलाई समर्थन गर्दै आएका धेरै मानिसहरूसँगको सम्पर्क टुट्ने डर पनि हुन्छ।”
आलियाले आफ्नो व्यक्तिगत जीवनलाई अहिले निकै निजी बनाएको पनि स्पष्ट पारिन्। उनले भनिन्, “मेरो व्यक्तिगत जीवन यति निजी भइसकेको छ कि त्यसलाई साझा गर्न मलाई अलि गाह्रो लाग्छ। मेरो फोटो एल्बम अहिले छोरी राहाका तस्बिरहरूले भरिएको छ। आफ्नै तस्बिर खिच्न पनि मलाई निकै मेहनत गर्नुपर्छ।”
मातृत्वले आफ्नो शरीर, सोच र जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको आलियाको भनाइ छ। छोरी राहा जन्मिएपछि प्राथमिकता र दैनिकी पूर्ण रूपमा फेरिएको उनले बताइन्। आलिया भट्ट र अभिनेता रणवीर कपूरले अप्रिल २०२२ मा विवाह गरेका थिए भने उनीहरूको छोरी राहाको जन्म नोभेम्बर २०२२ मा भएको हो।
यसअघि चर्चित गायिका नेहा कक्कडले पनि सामाजिक सञ्जाल र व्यक्तिगत सम्बन्धबाट केही समयका लागि ब्रेक लिने इच्छा सार्वजनिक गरेकी थिइन्।



