- माघ १७, २०८२
- No Comment
- 68
चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी ! थाहा पाउनुस् ११ बेफाइदा

काठमाडौं — स्वास्थ्यका विषयमा हामी धेरै कुरा पढ्छौं, सुन्छौं र अपनाउँछौं पनि । तर केही यस्ता तथ्य छन्, जसबारे जानकारी नहुँदा दैनिक बानीले नै स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ । चिनीको अत्यधिक प्रयोग पनि त्यस्तै एक जोखिमपूर्ण बानी हो । हालैका अध्ययनहरूले चिनीको धेरै सेवन चुरोट र रक्सी जत्तिकै हानिकारक हुने देखाएका छन् ।
क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अनुसन्धान अनुसार दैनिक रूपमा बढी मात्रामा चिनी सेवन गर्दा मुटु रोग, मधुमेह, मोटोपनदेखि क्यान्सरसम्मको जोखिम बढ्ने पाइएको छ । चिया, कफी, जुस, मिठाई, पेस्ट्रीजस्ता दैनिक खानामा मिसिने चिनीले शरीरमा बिस्तारै नकारात्मक असर पार्ने विज्ञहरू बताउँछन् ।
१. मुटु रोगको जोखिम बढाउँछ
चिनीले खराब कोलेस्ट्रोल बढाई रक्तनली साँघुरो बनाउँछ । यसले उच्च रक्तचाप, हृदयघात र मुटु रोगको सम्भावना बढाउँछ ।
२. दिमागलाई कुलततर्फ धकेल्छ
चिनीले दिमागमा ‘डोपामाइन’ नामक रसायनको मात्रा बढाउँछ, जसले कुलतजस्तै लत बसाल्न सक्छ । त्यसैले गुलियो खानेलाई बारम्बार त्यही चाहना हुने गर्छ ।
३. अनावश्यक भोक बढाउँछ
गुलियो खानेकुरा खाएपछि भोक मेटिएजस्तो लागे पनि केही समयमै झन् बढी भोक लाग्छ । यसले तौल बढ्न मद्दत गर्छ ।
४. कलेजोलाई क्षति पुर्याउँछ
फ्रुक्टोज बढी मात्रामा सेवन हुँदा कलेजोमा बोसो जम्न थाल्छ । यसले कलेजो मोटो हुने र कार्यक्षमता घट्ने जोखिम बढाउँछ ।
५. क्यान्सरको सम्भावना
अत्यधिक चिनी सेवनले इन्सुलिनको मात्रा बढाउँछ, जसले प्रोस्टेट, स्तन र पेटसम्बन्धी क्यान्सरको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन् ।
६. इन्सुलिन असन्तुलन
बढी चिनी खाँदा रगतमा ग्लुकोज र इन्सुलिन अत्यधिक बढ्छ । यसले मेटाबोलिक सिन्ड्रोमको खतरा निम्त्याउँछ ।
७. दाँत र गिजाको समस्या
चिनीले मुखभित्र ब्याक्टेरिया बढाउँछ । दाँत राम्रोसँग माझिएन भने दाँत कुहिने र गिजा रोग लाग्ने सम्भावना उच्च हुन्छ ।
८. मोटोपन बढाउँछ
चिनीले भोक जगाउने हर्मोन बढाउँछ, जसका कारण धेरै खाने बानी पर्छ र मोटोपन बढ्छ ।
९. छाला चाँडै बूढो देखिन्छ
अत्यधिक चिनीले छालाको चमक हराउने, चाउरी पर्ने र अनुहारमा दाग देखिने समस्या निम्त्याउँछ ।
१०. ऊर्जा असन्तुलन
चिनीले तत्काल ऊर्जा दिएजस्तो लागे पनि पछि थकान र कमजोरी बढाउँछ ।
११. मधुमेहको जोखिम
लामो समयसम्म चिनीको अत्यधिक सेवनले टाइप–२ मधुमेह हुने सम्भावना धेरै बढ्छ ।
स्वस्थ जीवनशैलीका लागि चिनीको मात्रा घटाउनु अपरिहार्य छ । विज्ञहरूका अनुसार आवश्यक मात्राभन्दा बढी गुलियो सेवन नगरी सन्तुलित आहार र सक्रिय जीवनशैली अपनाउन सके धेरै रोगबाट बच्न सकिन्छ ।



