- माघ १५, २०८२
- No Comment
- 82
करेला लाभदायक हुनुका साथै हुन्छ हानिकारक, थाहा पाउनुहोस् कसरी ?

काठमाडौं । स्वस्थ जीवनका लागि हरियो सागसब्जी र फलफूलको सेवन गर्न चिकित्सक तथा विज्ञहरूले सुझाव दिँदै आएका छन्। यस्तै तितो स्वाद भए पनि पौष्टिक गुणले भरिपूर्ण तरकारीका रूपमा करेलालाई विशेष मानिन्छ। हजुरआमा–हजुरबुबाले समेत करेला खान सल्लाह दिने गरेका छन्। तर करेला जति फाइदाजनक छ, अत्यधिक सेवन गर्दा त्यति नै हानिकारक पनि हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
करेला खनिज पदार्थ र औषधीय गुणले भरिपूर्ण तरकारी हो। यसको सेवनले तौल घटाउन, कोलेस्ट्रोल नियन्त्रण गर्न तथा मुटुको स्वास्थ्य राम्रो राख्न सहयोग पुर्याउँछ।
करेलाको पातको रसमा बेसार मिसाएर प्रयोग गर्दा डन्डीफोरको समस्या कम हुने विश्वास गरिन्छ। साथै, करेलाको जरा मह र तुलसीको रससँग मिसाएर सेवन गर्दा घाँटी दुख्ने वा आवाज बस्ने समस्या कम हुन सक्छ। तितो करेला चिसो, खोकी र रुघाखोकीमा पनि लाभदायक मानिन्छ।
करेला मधुमेहका बिरामीका लागि उपयोगी भए पनि अत्यधिक सेवन गर्दा रगतमा चिनीको मात्रा अत्यधिक घट्न सक्ने खतरा हुन्छ। यसले हेमोलाइटिक एनीमियाको जोखिम समेत बढाउन सक्छ।
गर्भावस्थामा करेलाको बढी सेवन हानिकारक हुन सक्छ। गर्भवती महिलाले करेलाको जुस दिनहुँ सेवन गर्नु उपयुक्त नहुने चिकित्सकको सुझाव छ। त्यसैगरी, करेलामा पाइने लेक्टिन तत्वले कलेजोमा प्रोटिनको सञ्चारमा असर पार्न सक्ने भएकाले दैनिक र अत्यधिक सेवन नगर्नु राम्रो मानिन्छ।
करेला धेरै खाँदा पखाला, बान्ता जस्ता समस्या देखिन सक्ने भएकाले बालबालिकालाई पनि दिनहुँ करेला खुवाउनु उपयुक्त नहुने विज्ञहरूको भनाइ छ।
करेला स्वास्थ्यका लागि लाभदायक भए पनि सन्तुलित मात्रा र आवश्यकता अनुसार सेवन गर्नु नै बुद्धिमानी हुन्छ। कुनै पनि खाद्यपदार्थको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले सचेत रहन आवश्यक छ।



