- पुस २८, २०८२
- No Comment
- 101
विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतिर, कार्यवाहक सभापतिको अपिल– ‘एकतामा असर पर्ने काम नगरौँ’

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ उन्मुख भइरहेका बेला पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन्।
विशेष महाधिवेशन पक्षधरहरूले बन्दसत्रमार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेपछि संस्थापन पक्षले एकतामा असर पर्ने गतिविधि नगर्न अपिल जारी गरेको हो। खड्काले जारी गरेको अपिलमा पार्टीभित्र देखिएको असहज अवस्थालाई अन्त्य गर्न सबै जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।
अपिलमा भनिएको छ, ‘नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका पदाधिकारी र सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न एकताबद्ध हुन आवश्यक छ।’
कार्यवाहक सभापति खड्काले वर्तमान अवस्थामा पार्टी एकतामा नकारात्मक असर पार्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा अपिल गर्दै सम्पूर्ण एकताका साथ अगाडि बढ्न आग्रह गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा ५६ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले बन्दसत्र सञ्चालन गर्दै नीति र नेतृत्व दुवै परिवर्तनको प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षबाट यस्तो अपिल आएको हो। विशेष महाधिवेशनले पार्टीको भावी नेतृत्व र दिशा तय गर्ने भएकाले यसले कांग्रेसभित्र थप राजनीतिक तरंग पैदा गरेको छ।



