- पुस २७, २०८२
- No Comment
- 71
रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने १६ पुगे, विपिन आचार्य पनि प्रत्यक्ष चुनावमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सांसदको सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। उनले अब प्रत्यक्ष निर्वाचन लड्ने बताएका छन्।
आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन्। यद्यपि निर्वाचन आयोगले औपचारिक रूपमा नाम फिर्ता लिन पुस २८ गतेको मिति तोकेको छ। सो दिन आयोगमा निवेदन दर्ता भएपछि मात्र नाम फिर्ता भएको मानिनेछ।
‘मैले समानुपातिकबाट नाम फिर्ता लिने निर्णय गरिसकेको छु, अब प्रत्यक्ष चुनाव लड्छु,’ आचार्यले बताएका छन्। रास्वपाले समानुपातिक सूची बुझाउँदा उनलाई खस–आर्य समूहको पहिलो नम्बरमा सिफारिस गरेको थियो।
आचार्यसँगै रास्वपाबाट समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या १६ पुगेको छ। यसअघि सचिन ढकाल, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए।
पार्टीका नेताहरूले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णयलाई संगठन विस्तार र जनसम्पर्क मजबुत बनाउने रणनीतिका रूपमा लिएका छन्।



