- पुस १७, २०८२
- No Comment
- 169
सुगरका बिरामीले के खाने, के नखाने ?

सुगर (डायबेटिज) का बिरामीहरूले सबैभन्दा धेरै सोध्ने प्रश्न हो– के खाने र के नखाने ? तर सबै बिरामीका लागि एउटै किसिमको डाइट उपयुक्त नहुने चिकित्सकहरू बताउँछन्। शरीरको अवस्था, उमेर, कामको प्रकृति र जीवनशैलीअनुसार खानपान निर्धारण गर्नुपर्ने डा. केएन पौडेलको भनाइ छ।
कुन खानेकुरामा कति मात्रामा सुगर (कार्बोहाइड्रेट) हुन्छ भन्ने जानकारी राखेर दैनिक जीवनमा कडाइका साथ लागू गर्न सकेमा सुगर नियन्त्रणमा राख्न सकिने उहाँले बताउनुभयो।
१. तरकारी
तरकारीमा पानीको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुन्छ भने कार्बोहाइड्रेटको मात्रा करिब १० प्रतिशत मात्र हुन्छ। तर जमिनमुनि फलेका आलु, पिँडालु, सखरखण्डजस्ता तरकारीमा भने कार्बोहाइड्रेट बढी हुने भएकाले सुगरका बिरामीले यस्ता खानेकुरा कम मात्रामा खानुपर्ने डा. पौडेलले सुझाव दिनुभयो।
२. फलफूल
फलफूलमा पनि सबैमा समान मात्रामा कार्बोहाइड्रेट हुँदैन। अम्बा र अनारमा कार्बोहाइड्रेट कम हुन्छ भने केरा र आँपमा बढी हुन्छ। त्यसैले फलफूल छनोट गर्दा सचेत हुनुपर्ने उहाँको भनाइ छ।
३. अन्नजन्य खानेकुरा
भात, रोटी, चिउरा जस्ता अन्नजन्य खानेकुरा नेपालीहरूको मुख्य भोजन हुन्। भातमा कार्बोहाइड्रेट अत्यधिक हुने भएकाले मात्रा मिलाएर खानुपर्छ। भातभन्दा रोटी राम्रो मानिए पनि रोटी धेरै मात्रामा खाँदा पनि सुगर बढ्न सक्ने चिकित्सकहरू बताउँछन्।
मकैले पनि सुगर बढाउन सक्छ। त्यस्तै, दालमा पनि कार्बोहाइड्रेट हुने भएकाले मात्रा मिलाएर मात्रै खानुपर्ने सुझाव दिइएको छ।
४. प्रोटिन
अण्डा, माछा र मासुले प्रत्यक्ष रूपमा सुगर नबढाउने भए पनि मात्रा मिलाएर, स्वच्छ तरिकाले खानुपर्छ। धेरै बोसोयुक्त मासु खाँदा कोलेस्ट्रोल लगायतका अन्य स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने डा. पौडेलले बताउनुभयो।
सुगर नियन्त्रणका लागि औषधि मात्र होइन, सही खानपान र जीवनशैली अत्यन्तै महत्वपूर्ण हुन्छ। व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार खानपान तय गरेर नियमित रूपमा पालन गर्न सकेमा सुगर नियन्त्रण सम्भव हुने चिकित्सकहरूको सुझाव छ।
डा. केएन पौडेल



