- पुस १६, २०८२
- No Comment
- 93
अनेरास्ववियु सुनसरी अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्त

सुनसरी — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन्।
जेन–जी आन्दोलनका क्रममा सरकारद्वारा गोली चलाउँदा विद्यार्थीको मृत्यु भएपछि सिग्देलले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै कडा आलोचना गरेका थिए। उनले घटनाको जिम्मेवारी लिनुपर्ने र “विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो” टिप्पणी गरेका थिए। जेन–जी आन्दोलनप्रति समर्थन जनाउँदै ओली प्रवृत्तिको विरोध गरेकै कारण आफूलाई हटाइएको सिग्देलको दाबी छ।
सिग्देल अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। तर, धरानमा आयोजित विशेष भेलामार्फत उनलाई हटाउँदै शेखर रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको अनेरास्ववियुले जनाएको छ। रेग्मीले अधिवेशनमा पनि अध्यक्षमा दाबी गरे तापनि बहुमत प्रतिनिधिले सिग्देललाई चयन गरेका थिए।
नयाँ कमिटीमा उपाध्यक्षमा आदित्य खड्का, सचिवमा अरुण चौधरी, सहसचिवमा इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङ रहेका छन्। कोषाध्यक्षमा सज्नु खड्का तथा कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भएका छन्।
बर्खास्तीपछि प्रतिक्रिया दिँदै सिग्देलले अनेरास्ववियु “ओलीलाई भगवान् मान्ने गुटको संगठन” बन्दै गएको आरोप लगाए। विद्यार्थी हत्याको विरोधसमेत गर्न नसक्ने अवस्थामा संगठन पुर्याइनु गलत भएको भन्दै उनले व्यक्तिवादी चरित्रविरुद्ध संघर्ष जारी राख्ने बताएका छन्।



