- पुस ५, २०८२
- No Comment
- 152
सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम सुरू हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम आयोजना हुने भएको छ। पारा फाउन्डेसन सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा माघ ९ गतेदेखि १४ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने पारा फाउन्डेसन सुर्खेतका अध्यक्ष किशोर शाहीले जानकारी दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने, समावेशी खेलकुदको प्रवर्द्धन गर्ने तथा अपाङ्ग खेलाडीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।
कार्यक्रममा देशभरका सातै प्रदेशसहित दुई विभागीय टोलीको सहभागिता रहनेछ। आयोजकका अनुसार देशैभरिबाट २ सयभन्दा बढी ह्विलचेयर खेलाडी सहभागी हुनेछन्। चार दिनसम्म चल्ने प्रतियोगितामा ह्विलचेयर बास्केटबल (महिला तथा पुरुष), ह्विलचेयर क्रिकेट (टी–२० ढाँचामा ४ टोली), ह्विलचेयर दौड (५ किलोमिटर) र ह्विलचेयर डान्सलगायतका खेल समावेश गरिएका छन्।
ह्विलचेयर बास्केटबल प्रतियोगिता कर्णाली प्रदेश रंगशालामा र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। त्यस्तै, ह्विलचेयर दौड वीरेन्द्रनगरको एयरपोर्टदेखि बाङ्गेसिमलसम्म आयोजना गरिनेछ।
अध्यक्ष शाहीले पारा राष्ट्रिय खेलकुद कर्णालीमै हुनुपर्छ भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै खेलकुदमार्फत अपाङ्गता भएका व्यक्तिहरू पनि सक्षम छन् भन्ने सन्देश समाजमा प्रवाह गर्ने लक्ष्य रहेको बताए। साथै, प्रदेश सरकारले अपाङ्गता सम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली पनि राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्न सक्षम रहेको विश्वास दिलाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताए।
कार्यक्रमलाई पर्यटनसँग जोड्ने प्रयाससमेत गरिएको आयोजकको भनाइ छ। पारा फाउन्डेसनले कार्यक्रम सफल बनाउन आर्थिक सहयोग तथा प्रचार–प्रसारका लागि सञ्चारकर्मी र सरोकारवालाहरूको सक्रिय सहयोगको अपील गरेको छ।



