- पुस ४, २०८२
- No Comment
- 134
ललितपुरमा भारतीय इन्जिनियरको बीभत्स हत्या

काठमाडौँ । ललितपुर महानगरपालिका–२४ धापाखेलमा एक जना भारतीय इन्जिनियरको हत्या भएको छ। करिब डेढ महिनाअघि मृत भेटिएका ४६ वर्षीय देवकुमारको हातखुट्टा बाँधेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।
कात्तिक १९ गते धापाखेलस्थित निर्माणाधीन कोलोनीको प्यासेजमा गाडिएको अवस्थामा देवकुमारको शव फेला परेको थियो। भवनको डिजाइनसम्बन्धी कामका लागि नेपाल आएका उनको शव उत्खनन गर्दा मुखमा टेप लगाइएको र हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार इन्जिनियरको टाउकोमा गम्भीर चोटसमेत देखिएको छ। “यो डेढ महिनाअघिको घटना हो। हामीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेका छौँ,” एसएसपी बोगटीले बताए।
प्रहरीका अनुसार हत्यामा निर्माणाधीन घरमा कार्यरत मजदुरको संलग्नता हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार कम्तीमा दुई जना मिलेर हत्या गरेको आशंका छ।
हत्यामा संलग्न आरोपीहरू घटना भएयता फरार रहेका छन्। घटनास्थल प्रहरी वृत्त सातदोबाटोको कार्यक्षेत्रभित्र पर्छ। हाल उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतहरूले संयुक्त रूपमा घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।



