- पुस ४, २०८२
- No Comment
- 159
स्पा र होटलबाट ८ बालिकाको उद्धार, यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जनस्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार छापामारीका क्रममा विभिन्न होटल तथा स्पाबाट आठ जना बालिकाको उद्धार गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी तथा कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर, गेष्टहाउस तथा दोहोरी सेन्टरहरूमा आर्थिक लाभका लागि नाबालिकालाई यौन शोषण तथा वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले छापा मारेको हो।
छापामारीका क्रममा ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट नाबालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले जानकारी दिए।



