- पुस ४, २०८२
- No Comment
- 172
वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रो पटक एमाले केन्द्रीय सदस्य निर्वाचित

सुर्खेत । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी नगर प्रमुख मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
ढकाल कर्णाली प्रदेशको भूगोलबाट महिलातर्फ सर्वाधिक १ हजार ९२३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। यसअघि उनी चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन्। उपमेयरको जिम्मेवारी सम्हालेकै बेला उनी पहिलो पटक केन्द्रीय सदस्य बनेकी थिइन्।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले ६ दलीय गठबन्धनलाई पराजित गर्दै वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा विजय हासिल गरेकी हुन्।
राजनीति र विकासका मुद्दालाई सशक्त रूपमा उठाउँदै आएकी ढकाल कर्णाली प्रदेशका महिलाका समस्या समाधानका लागि कर्णालीले नै नेतृत्वदायी भूमिका लिनुपर्ने धारणा राख्दै आएकी छन्। झण्डै तीन लाख जनसंख्या रहेको सहरको प्रमुखको जिम्मेवारीमा रहेर पनि पार्टीले दिएको जिम्मेवारीलाई सक्रिय रूपमा निर्वाह गर्दै संगठन विस्तारमा उनले महत्वपूर्ण योगदान पुर्याएको नेताहरू बताउँछन्।
कानुनमा एलएलबी र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेकी ढकाललाई स्थानीय राजनीतिक वृत्तमा कर्णालीको राजनीतिक आकाशमा उदाउँदै गरेको आशालाग्दो नेतृका रूपमा हेरिने गरिएको छ।



