- पुस ४, २०८२
- No Comment
- 115
बिहानको घाम ताप्नुका फाइदा र बेफाइदा

काठमाडौं । घाम मानिसको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको प्राकृतिक स्रोत हो । ब्रह्माण्डमा सूर्यको जति महत्व छ, मानव जीवनमा पनि त्यत्तिकै आवश्यक मानिन्छ । घामले शरीरमा सकारात्मक ऊर्जा प्रवाह गराउने मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि यसको भूमिका महत्वपूर्ण हुन्छ। विशेषगरी बिहानको घाम ताप्नु लाभदायी मानिन्छ।
घामले शरीरलाई पुर्याउने फाइदा
सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी ले हड्डी मजबुत बनाउन सहयोग पुर्याउँछ। बिहानको पारिलो घाममा केही समय बस्नाले शरीरमा मेलाटोनिन नामक हर्मोनको सन्तुलन कायम हुन्छ, जसले राम्रो निद्रामा सहयोग गर्छ।
त्यसैगरी, घामले चिसोबाट लाग्ने रोगहरूबाट बचाउन मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बलियो बनाउने र रगत जम्ने सम्भावना कम गर्ने चिकित्सकहरू बताउँछन्। सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले शरीरलाई संक्रमणसँग लड्न सक्षम बनाउने विश्वास गरिन्छ।
घामबाट हुन सक्ने बेफाइदा
यद्यपि अत्यधिक समयसम्म घाममा बस्दा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। लामो समय घाममा बस्दा छालामा डढ्ने, रुखो हुने, चाया, पोतो र कोठी देखिने समस्या आउन सक्छ। जाडो मौसममा पनि अत्यधिक घामले छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन सक्छ।
विशेषगरी लामो समयसम्म घामको सिधा सम्पर्कमा रहने व्यक्तिमा छालासम्बन्धी गम्भीर समस्या, यहाँसम्म कि छालाको क्यान्सर हुने जोखिम पनि रहन्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको हल्का घाम १५–३० मिनेटसम्म लिनु उपयुक्त हुन्छ। अत्यधिक घाममा नबस्ने, आवश्यक परे सनस्क्रिन प्रयोग गर्ने र शरीरलाई सुरक्षित राख्ने उपाय अपनाउनु जरुरी छ।



