- मंसिर २८, २०८२
- No Comment
- 169
इजरायलको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर मारिए

गाजा । इजरायलले गाजा सहरमा गरेको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर रायद साद मारिएको दाबी गरेको छ। इजरायली सेना (आईडीएफ) र सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखा अल–कसम ब्रिगेडका हतियार उत्पादन प्रमुख सादलाई ‘निष्क्रिय पारेको’ जनाएको हो।
इजरायली अधिकारीहरूका अनुसार साद हमासका सबैभन्दा प्रभावशाली सैन्य कमाण्डरहरूमध्ये एक थिए। उनले गत ७ अक्टोबरमा गाजाको पूर्वी क्षेत्रबाट इजरायली बस्तीहरूमा गरिएको हमलामा प्रमुख भूमिका खेलेको बताइएको छ। सो हमलामा चार जनाको मृत्यु भएको थियो।
हमास-शासित गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसलले बीबीसीसँग कुरा गर्दै उक्त हवाई हमलामा चार जनाको ज्यान गएको र बाटोमा हिँडिरहेका अन्य थुप्रै सर्वसाधारण घाइते भएको जानकारी दिएका छन्।
यसैबीच, गाजाका एक स्थानीय हमास अधिकारीले बीबीसीलाई बताएअनुसार यस हमलामा सादका सहयोगी तथा तल्लो दर्जाका अधिकारी अबू इमाद अल–लाबान पनि मारिएका छन्।
आईडीएफ र शिन बेटको संयुक्त विज्ञप्तिमा सादलाई गाजा पट्टीमा विस्फोटक उपकरण प्रयोग गरी धेरै इजरायली सैनिकको मृत्यु गराउने कार्यमा जिम्मेवार रहेको उल्लेख गरिएको छ। उनी अक्टोबरमा युद्धविराम लागू भएपछि गठन गरिएको पाँच सदस्यीय सैन्य नेतृत्व परिषद्का सदस्यसमेत रहेको विश्वास गरिएको छ।
इजरायलले सादलाई मार्ने प्रयास यसअघि पनि पटक–पटक गर्दै आएको थियो। सबैभन्दा चर्चित प्रयास सन् २०२४ को मार्चमा गाजा सहरमा गरिएको एक विशेष सैन्य अपरेशनका क्रममा भएको बताइएको छ। त्यतिबेला इजरायली सेनाले उनलाई पक्राउ वा मार्ने प्रयास गरेको भए पनि छापा अघि उनी भाग्न सफल भएको स्रोतहरूले बताएका थिए।
साद लामो समयदेखि इजरायलको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका हमासका शीर्ष व्यक्तित्वमध्ये एक मानिन्थे। इजरायलले उनलाई लक्षित गर्दै दुई दशकभन्दा बढी समयदेखि विभिन्न सैन्य प्रयास गर्दै आएको थियो।
तर, इजरायलले गाजाभित्र बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएकाले घटनाका सबै विवरणहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।



