- मंसिर २४, २०८२
- No Comment
- 149
कर्णालीले बजेट खर्च क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकास रोकिँदै आएको प्रमुख कारण बजेट खर्च क्षमताको कमजोरी भएको बताएका छन्। वीरेन्द्रनगरमा कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारका सबै निकायले समयमै र प्रभावकारी रूपमा बजेट खर्च गर्न नसक्दा जनताको अपेक्षाअनुसार सेवा तथा विकास निर्माण कार्य अघि बढ्न नसकेको बताए।
मुख्यमन्त्री कँडेलका अनुसार व्यक्तिगत इच्छाशक्ति मात्रले विकास सम्भव नहुने हुनाले सामूहिक प्रयास, सहकार्य र सक्रियता अनिवार्य छ। उनले अन्य प्रदेशको तुलनामा कर्णाली पछाडि पर्नुमा पुरानै मानसिकता, ढिलासुस्तीपूर्ण कार्यशैली र केन्द्रीकृत प्रशासनिक संरचनाको निरन्तरता मुख्य दोषी रहेको टिप्पणी गरे।
“हामीसँग आवश्यक जनशक्ति छैन, रहेका जनशक्तिलाई पनि पूर्ण अधिकार दिइएको छैन,” भन्दै उनले कर्मचारीतन्त्रमा सेवा भावभन्दा समय काट्ने, जोखिम नलिने र निर्णय पन्छाउने प्रवृत्ति हावी रहेको बताए। नयाँ संरचना अनुसार काम गर्न आवश्यक कानुन नबनेको र पुराना ऐनकै भरमा चल्नुपरेको कारण विकासका काम प्रभावित भएको उनको भनाइ थियो।
“प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्था रहँदा थप स्रोत माग्नुको औचित्य हुँदैन,” भन्दै उनले खर्च क्षमता बढाउनेतर्फ प्रदेशले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।
चुनौतीका बाबजुद पनि प्रदेश सरकार नतिजामुखी बन्न कटिबद्ध रहेको बताउँदै उनले कर्णालीको विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य भएको उल्लेख गरे।



