- मंसिर १८, २०८२
- No Comment
- 135
आज किराँत समुदायले उँधौली पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृति, पितृ तथा इष्टदेवप्रति कृतज्ञता व्यक्त गर्दै उधौली पर्व देशभर मनाइरहेको छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएकाले विभिन्न स्थानमा उधौली विशेष कार्यक्रमहरू आयोजना हुँदैछन्।
किराँत समुदायभित्रका विभिन्न समूहले उधौलीलाई फरक–फरक नामले पुकारे पनि यसको मूल भावना एउटै छ—प्रकृतिले दिएको अन्नबालीका लागि धन्यवाद व्यक्त गर्ने। याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उधौली सकेला’ तथा लिम्बूहरूले ‘चासोक तङ्नाम’ का नामले यो पर्व मनाउँछन्। लिम्बू समुदायले तीन दिनअघि नै चासोक तङ्नाम सुरु गरिसकेको थियो।
किरात संस्कृतिका अनुसन्धानकर्ता कीर्तिकुमार दुमी राईका अनुसार किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, पितृलाई सम्झने र नयाँ बाली खाने अनुमति माग्ने परम्परालाई उधौलीका रूपमा मनाउने गर्छ। यसैगरी बाली लगाउने समयमा ‘उँभौली’ पर्व मनाइने चलन छ, जहाँ राम्रो खेतीपातीका लागि प्रार्थना गरिन्छ।
उधौली पर्वको अवसरमा बिहानैदेखि किराँत पुरुष तथा महिलाहरू जातीय वेशभूषामा सज़िएर च्याब्रुङ बाजाका तालमा धान नाच गर्दै भूमिपूजाका लागि धार्मिक स्थलमा पुग्ने गर्छन्। ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक तीर्थस्थल मानिने भएकाले आज त्यहाँ विशेष भीड छ। लिम्बूहरूले युमासामाङ–थेवासामाङलाई इष्टदेव मानेर पूजा गर्छन् भने किराँत समुदायले तागेरा निङ्वाफुमाङलाई स्वरूपहीन अदृश्य शक्तिको रूपमा पुज्ने गर्छ।
पूजापछि चण्डीनाच, च्याब्रुङ नाच, ढोलनाचलगायत परम्परागत नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिन्छ। खेलकुद प्रतियोगिता र सामूहिक उत्सवले पर्वलाई अझ उत्साहपूर्ण बनाउँछ।
उँभौलीमा गर्मी चढ्दै जाँदा लेकतिर जाने र उधौलीमा जाडो बढेपछि तल झर्ने प्राचीन प्रचलनलाई वातावरणअनुकूल जीवनशैलीको प्रतीकका रूपमा समेत लिने गरिएको अनुसन्धानकर्ता राईको भनाइ छ। उधौली खेतीपाती राम्रो भएकोमा धन्यवाद दिने र समृद्धिको कामना गर्ने पर्वका रूपमा मनाइन्छ।
आज मनाइने उधौली, खस आर्य समुदायको धान्य पूर्णिमा र नेवार समुदायको ‘यः मरि पुन्हि’ अर्थात् ‘योमरी पूर्णिमा’ सबैको मूल भाव एउटै—नयाँ अन्नबालीका लागि धन्यवाद र देवप्रति अर्पण। विगतमा कटौती गरिएको बिदालाई पुनः प्रदान गर्दै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।



