- मंसिर ८, २०८२
- No Comment
- 138
जनेजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ — जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई गैरजिम्मेवार निर्णय, कुशासन र बढ्दो आरोप–प्रत्यारोप का कारण तत्काल राजीनामा दिन आग्रह गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै मुभमेन्टले सरकारले जनविश्वास गुमाएको दाबी गर्दै सार्वजनिक बहिष्कार र अवज्ञा गर्न देशवासीलाई आह्वान गरेको हो।
विज्ञप्तिमा मुभमेन्टले सरकारले विभिन्न मन्त्रालयमा पारदर्शिता र जवाफदेहिताको अभाव देखाएको आरोप लगाएको छ। उनीहरूले ऊर्जा, अर्थ, कानून तथा गृह क्षेत्रसँग सम्बन्धित केही निर्णय र कार्यप्रक्रियालाई विवादास्पद भएको दाबी गर्दै सम्बन्धित पदाधिकारिहरूमाथि गम्भीर प्रश्न उठाएका छन्।
मुभमेन्टका अनुसार सरकारका पदाधिकारीहरूविरुद्ध उठेका प्रश्नहरूको विश्वसनीय छानबिन नभएसम्म सरकारको नैतिक वैधता कमजोर हुने दाबी गरिएको छ। ‘विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद तथा घाइतेहरूप्रति अनादर हुने निर्णयहरू भइरहेकाले सरकारले नैतिकता गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल पदबाट हट्न आग्रह गर्दै मुभमेन्टले जेनजी विद्रोहको भावना र जनआकांक्षा विपरीत नजान चेतावनी दिएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सामूहिक रूपमा सार्वजनिक बहिष्कार गर्न नागरिकलाई अपिल गरेको छ।
सरकार पक्षबाट भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।



