- मंसिर ४, २०८२
- No Comment
- 114
सिमरा घटना : अनुसन्धानका लागि दुई वडाध्यक्ष पक्राउ

बाराको सिमरामा भएको झडपको अनुसन्धान अघि बढाउँदै प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा पक्राउ गरिएका व्यक्तिहरू जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेको प्रहरीले जनाएको छ। दुवै जना नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधि हुन्।
बुधबार सिमरा चोकमा जेन–जी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ‘सम्राट्’ उपनामले चिनिने जेन–जी समूहका साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए। घाइते उपाध्यायले श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिले नियोजित रूपमा आक्रमण गरेको दाबी गर्दै किटानी जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा प्रहरीले दुबै वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ परेकाहरूसँग प्रारम्भिक बयान लिन प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि छानबिनपछि कानूनी कारबाही गर्नुपर्ने मागसहित बिहीबार बिहानदेखि सिमराका युवाहरू सडकमा उत्रिएका छन्।
स्थिती क्रमशः तनाबपूर्ण बन्दै गएकाले सिमरा–पथलैया सडकखण्डमा जेनजी समूहका युवाले टायर बालेर आवागमन अवरुद्ध गरेका छन्। बजार क्षेत्रका सबै पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प अवस्थामा छन्। सम्भावित जोखिम न्युनिकरण गर्न सिमरा क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



