- मंसिर ४, २०८२
- No Comment
- 39
मधुमेहका बिरामीले कस्तो खाना खाने?
मधुमेह भएका बिरामीले दिनचर्यामा सन्तुलित आहार अपनाएमा रोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने पोषणविद्हरूको सुझाव छ। नर्भिक अस्पतालकी पोषणविद् सिंहका अनुसार मधुमेह भएको मात्रामा चिनी वा चिनी मिसिएका खानेकुरा खान नहुने भए पनि अन्य परिकारलाई भने उचित मात्रामा समायोजन गरेर सेवन गर्न सकिन्छ।
उनका अनुसार धेरैले भात र आलु खानै नहुने भन्ने बुझाइ राखे पनि ती खानेकुरा पूर्ण रूपमा त्याग्न आवश्यक छैन। तर कम मात्रामा तथा सन्तुलित परिकार सहित सेवन गर्नुपर्छ। “भातसँगै तरकारी, दाल, साग, अचार समेटेर भोजन लिँदा सुगर नियन्त्रणमा राख्न सजिलो हुन्छ,” सिंहले भनिन्।
ग्लाइसेमिक इन्डेक्सअनुसार खानपान
मधुमेहका बिरामीका लागि ‘ग्लाइसेमिक इन्डेक्स’ (GI) महत्वपूर्ण मानिन्छ। कम GI भएका खानेकुराले रक्तमा सुगरको मात्रा विस्तारै बढाउँछ भने उच्च GI भएका खानेकुराले चाँडै बढाउँछन्।
सिंहका अनुसार सागसब्जी, नट्स, अण्डा, माछा, मासु कम GI का स्रोत भएकाले सुरक्षित छन्।
यस्तै भात, चिनी, ग्लुकोज, मैदाका परिकार– बिस्कुट, चाउचाउ, ब्रेड उच्च GI मा पर्छन् र सावधानीका साथ सेवन गर्नुपर्ने हुन्छ।
मधुमेहका बिरामीले ध्यान दिनुपर्ने प्रमुख कुरा
– बिहान नास्तामा गुलिया परिकारबाट टाढा रहने
– मुख्य भोजनअघि सलाद खाने
– भातभन्दा तरकारीको मात्रा दोब्बर राख्ने
– छिटो–छिटो होइन, बिस्तारै चपाएर खाने
– दैनिक आहारमा पर्याप्त प्रोटिन राख्ने
– पनिर, गेडागुडी, अण्डा, माछामासु समावेश गर्ने
– सागसब्जी र हरियो तरकारी नियमित खाने
– खाना खाएपछि १५ मिनेट भित्र सुतेर नबस्ने
– १० मिनेट हिँड्ने बानी बसाल्ने
कति–कति समयमा खाने ?
सिंहका अनुसार भोजनबीच ३ देखि ४ घण्टाको अन्तराल उपयुक्त हुन्छ। सो अन्तरालमा हल्का खाजा सेवन गर्दा तौल नियन्त्रणमा रहन मद्दत गर्छ, जसले मधुमेह नियन्त्रणमा महत्त्वपूर्ण प्रभाव पार्छ।
उनले खानपानसँगै तनाव, अनिद्रा र शारीरिक निष्क्रियता पनि मधुमेह बिग्रने मुख्य कारण भएको बताइन्। यसैले पर्याप्त निद्रा, तनावमुक्त दिनचर्या र नियमित व्यायाम अनिवार्य रूपमा समावेश गर्नुपर्ने उनको सुझाव छ।
सन्तुलित पोषण, फाइबरयुक्त आहार र स्वस्थ जीवनशैली अपनाएमा मधुमेहलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिने विशेषज्ञहरूको भनाइ छ।