- मंसिर ३, २०८२
- No Comment
- 174
छिटो राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने सुर्खेतका टेकबहादुर सहित ८ जना पक्राउ

सुर्खेत । राहदानी विभाग त्रिपुरेश्वर बाहिर सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने प्रलोभन देखाई अतिरिक्त रकम असुल्ने समूहका आठ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का २५ वर्षीय प्रेमबहादुर लामा र १८ वर्षीय भगवान तामाङ, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सोही स्थानका ३८ वर्षीय जीवन लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले राहदानी विभागको मुख्य गेट बाहिर पुग्ने सेवाग्राहीलाई छिटो राहदानी बनाइदिने भन्दै विश्वास दिलाई अतिरिक्त रकम असुल्ने, अनावश्यक दुःख दिने तथा राहदानी विभागका कर्मचारीको नियमित काममा समेत अवरोध पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान र थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपरीक्षक आचार्यले बताए।



