- मंसिर २, २०८२
- No Comment
- 135
जाजरकोटमा ४७ थान अवैध सालको काठसहित १ जना पक्राउ

जाजरकोट। जाजरकोटमा ४७ थान अवैध सालको काठसहित एक जना पक्राउ परेका छन्। मंगलबार बिहान भेरी नगरपालिका वडा नं.९ कुदुस्थित सडकखण्डबाट काठसहित बस र गाडि धनीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपालगञ्जबाट कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको मे १ ख २७८३ नम्बरको बसमा अवैध सालको काठ ओसारपसार गरिरहेकाे अवस्थामा पक्राउ गरिएकाे हाे । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले भेरी नगरपालिका-९ कुदुस्थित सडक खण्डमा बसलाई रोक्न खोज्दा चालकले गाडी छाडेर फरार भएका थिए।
पक्राउ पर्नेमा बस धनी दैलेखकाे नाैमुले गाउँपालिका वडा नम्वर १ निवासी ३० वर्षिय प्रकाश बहादुर सुनार रहेकाे जाजरकाेट प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार बसको खानतलासी गर्दा सीटमुनि र विभिन्न स्थानमा लुकाएर राखिएका विभिन्न साइजका ४७ थान (कडी) सालका काठ फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार, “पक्राउ परेका सुनार र बरामद गरिएका काठसहितको बसलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाइएको छ।” उनले फरार चालकको खोजी भइरहेकाे पनि जानकारी दिए ।

