- कार्तिक ३०, २०८२
- No Comment
- 183
सुर्खेतमा उपचारका क्रममा कर्णाली डेण्टलका सञ्चालक सौगात सिंहको निधन

सुर्खेत—मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कर्णाली डेण्टलका सञ्चालक सौगात सिंहको उपचारका क्रममा मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका–५ स्थायी घर भई वीरेन्द्रनगर–३ तातापानी बस्दै आएका ३१ वर्षीय सिंहलाई आइतवार बिहान ५ः३० बजे प्रदेश अस्पताल सुर्खेतले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्तिक २ गते साँझ करिब ८ः३० बजे सिंहले चलाइरहेको कर्णाली प्रदेश ०२००१ प ४४४२ नम्बरको मोटरसाइकल मंगलगढी–लाटीकोईली सडक खण्डमा दुर्घटनाग्रस्त भएको थियो। वीरेन्द्रनगर–९ स्थित सैनिक आवासीय विद्यालयको गेट नम्बर २ नजिक मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएको ट्राफिक कार्यालयका प्रमुख रोहित कुमार शाहीले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते सिंहलाई प्रारम्भिक उपचारपछि लखनउ, भारतसम्म लगिएको थियो। टाउकोमा गम्भीर चोट देखिएपछि लखनउबाट पुनः नेपालगञ्जस्थित न्युरो अस्पताल हुँदै सुर्खेत ल्याइएको र निरन्तर उपचारका बाबजुद ज्यान बचाउन नसकिएको आफन्तहरूले बताएका छन्।
उनीको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ।



