- कार्तिक ३०, २०८२
- No Comment
- 216
सुर्खेतको वीरेन्द्रनगरमा आगलागी: नवदुर्गा बेबी सप र अचार पसल नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६, सनिहल लाइनस्थित एक सुपर मार्केटमा गएराति आगलागी हुँदा दुई पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बिहान करिब ४:२० बजे सुरु भएको आगलागीबाट जुना कुमारी बोहोराले सञ्चालन गरेको नवदुर्गा बेबी सप र खगिसरा बुढा रोकायको अचार पसलमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, श्याम चलाउने र धन बहादुर जि.सी.ले सञ्चालनमा ल्याएको १८ वटा सटर भएको दुई तले टिनले छाएको सुपर मार्केटको १ नम्बर सटरबाट एक्कासी आगो फैलिएको थियो। सोही सटरमा रहेको नवदुर्गा बेबी सपका सम्पूर्ण कपडाहरू र अन्य सामग्रीहरू पूर्ण रूपमा जलेर खरानी भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक जित बहादुर खड्काको कमाण्डमा दमकलसहित ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र दमकलको सहयोगमा करिब ४० मिनेटको प्रयासपछि बिहान ५:०० बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएकाे छ।
हाल आगलागीको कारण खुल्न नसकेकोले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ।



