- कार्तिक २६, २०८२
- No Comment
- 198
‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन

सुर्खेत – कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा स्वास्थ्य परीक्षण तथा बिएमआई (BMI) जाँच गरिएको हो।
अस्पतालका प्रमुख डा. श्यामकृष्ण लौडारीका अनुसार पहिलो चरणमा गणमा कार्यरत ३८ जना महिला र १९१ जना पुरुष गरी कुल २२९ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसैगरी टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक महिला र ४७ जना पुरुष गरी ४८ जनाको पनि स्वास्थ्य परीक्षण र बिएमआई जाँच गरेको छ।
डा. लौडारीले प्रहरी सदस्यहरूको स्वास्थ्यमा सुधार ल्याउन र नियमित स्वास्थ्य निगरानीको महत्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
कर्णाली प्रदेश प्रहरी अस्पतालका अनुसार यो कार्यक्रम क्रमशः अन्य जिल्लाका प्रहरी युनिटहरूमा पनि विस्तार गरिनेछ। आगामी चरणमा हुम्लामा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।



