- असार ३०, २०८२
- No Comment
- 131
आजकाे माैसम : यी प्रदेशमा वर्षाको सम्भावना

असार ३० – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सोमबार देशभर विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, विशेषगरी कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।
दिनको समयमै कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ। यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
रातको समयमा पनि मौसम उस्तै रहने अनुमान गरिएको छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोसी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ भने उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको अवस्था यथावत् रहने देखिएको छ।
मौसमविद्हरूका अनुसार २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ।
भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी, पहिरो तथा जलमग्नताको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।



