- असार ३, २०८३
- No Comment
- 3
मुक्त हलिया तथा दलित समुदायका अगुवाहरूलाई १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका स्तरीय तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा मुक्त हलिया र दलित समुदायका अगुवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १ दिने कानुनी सचेतना तथा सुशासन सम्बन्धी पालिका स्तरीय तालिम सम्पन्न भएको छ। “स्थानीयदेखि विश्वव्यापी मानव अधिकार पैरवीमार्फत सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण (L2G Project)” अन्तर्गत आयोजित तालिम राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल तथा जिल्ला हलिया मुक्त समाज, सुर्खेतको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ELCA र LWF को सहयोग र सहकार्य रहेको थियो।
तालिममा मध्यपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक उपेन्द्र विक ले सहजीकरण गर्दै नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, मानव अधिकार, सामाजिक न्याय, सुशासन, नागरिक सहभागिता तथा स्थानीय तहबाट प्रदान गरिने सेवासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले मुक्त हलिया तथा दलित समुदायले आफ्ना अधिकारबारे सचेत भई स्थानीय सरकारसँग समन्वय गर्दै समुदायका सवालहरू उठाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले कानुनी अधिकार, सामाजिक विभेद न्यूनीकरण, सुशासन प्रवर्द्धन तथा समुदायस्तरमा सचेतना विस्तारका विषयमा महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन्।
तालिमबाट प्राप्त ज्ञानलाई समुदाय स्तरमा व्यवहारिक रूपमा लागू गर्दै अधिकार सुनिश्चितता र सामाजिक रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत सहभागीहरूले व्यक्त गरेका थिए। आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले मुक्त हलिया तथा दलित समुदायको सशक्तीकरण, अधिकार संरक्षण तथा समावेशी विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ। कार्यक्रम चौकुने गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।



