- जेष्ठ २५, २०८३
- No Comment
- 8
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन

काठमाडौँ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ।
सोमवार बसेको समितिको बैठकमा सभापति जयन्तीदेवी राई ले सीमा विवाद तत्काल शान्त देखिए पनि समस्या जडबाट समाधान नभएको बताइन्। उनले अस्थायी व्यवस्थापनमा सीमित नभई दीर्घकालीन समाधानको बाटो पहिल्याउन सरकारलाई आग्रह गरिन्।
सभापति राईले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई खटाउँदा त्यहाँको भौगोलिक कठिनाइ, खाद्यान्न अभाव तथा जीवनयापनका चुनौतीलाई ध्यानमा राखेर आवश्यक सुविधा उपलब्ध गराउन पनि निर्देशन दिइन्।
समिति अनुसार विवाद समाधानका लागि दुवै जिल्लाका जनप्रतिनिधि, स्थानीय तह, प्रशासन र अन्य सरोकारवालाबीच समन्वय तथा निरन्तर संवाद आवश्यक छ। सीमांकन सम्बन्धी विषयलाई तथ्य, अभिलेख र स्थानीय सहमतिका आधारमा समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको छ।



