- जेष्ठ २३, २०८३
- No Comment
- 5
डोल्पाका तीन उत्कृष्ट शिक्षक नगद पुरस्कारसहित सम्मानित

डेाल्पा । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका डोल्पाका तीन जना शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, सुर्खेतले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार उनीहरूलाई उत्कृष्ट छनोट गरेको हो ।
सम्मानित हुनेहरूमा जगदुल्ला गाउँपालिका–२ स्थित त्रिपुरा साधारण तथा प्राविधिक माविका प्रधानाध्यापक जयबहादुर बस्नेत, मुड्केचुला गाउँपालिका–६ का मालिका माविका शिक्षक दामोदर ज्ञवाली र त्रिपुरासुन्दरी नगरपालिका–१० स्थित जनप्रभा साधारण तथा प्राविधिक माविकी शिक्षिका बुद्धा पहाडी हुनुहुन्छ । निर्देशनालयले उत्कृष्ट घोषित तीनै जना शिक्षकलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ ।
शिक्षकहरूको मूल्यांकन शिक्षण पेशामा समर्पण, विद्यालय व्यवस्थापन, विद्यार्थीको शैक्षिक उपलब्धि सुधार तथा समुदायसँगको सहकार्यका आधारमा गरिएको थियो । सम्मानित शिक्षकहरूले प्रदेश सरकारबाट प्राप्त यस सम्मानले आफ्नो कार्यप्रति थप जिम्मेवारी र उत्साह थपेको बताउँदै आगामी दिनमा अझ मेहनतका साथ विद्यार्थीको भविष्य निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भौगोलिक विकटता र सीमित स्रोतसाधनका बीच पनि दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूलाई प्रोत्साहन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । यस्ता सम्मानले शिक्षण पेशाको मर्यादा बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गरी विद्यालय शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।



